१४ असोज, काठमाडौं । सरकारले अविलम्ब कूटनीतिक पहल थाले सातापछि नै उत्तरको मुख्य तातोपानी नाका खुलाउन सम्भव देखिएको छ। भूकम्पले अवरुद्ध चीन जोड्ने अरनिको राजमार्गअन्तर्गत तातोपानी नाका खुलाउने काम अन्तिममा पुगेकाले तत्काल आपूर्ति सम्भव देखिएको हो।
वैशाख १२ को शक्तिशाली भूकम्प र लगातार अनुकम्पन एवं बर्खाको बाढीपहिरोले पाँच महिनादेखि यस नाका बन्द छ। राजमार्गले नाका छुट्ट्याउने मितेरीपुल जोड्न करिब २ सय मिटर मात्र बाँकी रहेको नागरिक दैनिकमा खबर छ ।
लिपिङबजारसम्म सडक अवरोध पन्छाउने काम सकिएको छ। पुलको सय मिटरवर सडकमै थुप्रिएको चट्टाने पहिरो हटाउनु अहिलेको प्राथमिक चुनौती हो। यो पहिरो हटाएपछि राजमार्गले नाका जोडिन्छ।
झरेको पहिरोले झन्डै सय मिटर दुरीमा फैलिएर १५ मिटर उचाइ लिएर राजमार्ग छेउका घरभन्दा अग्लो भीमकाय चट्टानै चट्टान थुप्रिएको छ। यो पहिरो तत्काल पन्छाउन डिभिजन सडक कार्यालयले सम्पूर्ण संयन्त्र परिचालन गरेको छ। पाँच दिनभित्र चट्टाने अवरोध हटाउन सडक र स्थानीय प्रशासन प्रतिबद्ध छन्।
‘जुनसुकै विकल्पले अवरोध पाँच दिनभित्र हटाइसक्छौं,’ बुधबार नाकाको अवस्था अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले नागरिकसँग भने, ‘माथिबाट कूटनीतिक पहल थाले सातापछि नै आपूर्ति सम्भव देखिएको छ।’
नाका सडकले जोडिन लागेपछि उत्साही उनले कूटनीतिक पहलका लागि माथिल्ला निकायमा अनुरोध गर्ने बताए।
भारतीय नाकामा ‘अघोषित नाकाबन्दी’ ले आपूर्ति प्रभावित भएपछि सरकारको ध्यान उत्तरी नाका खुलाउन केन्द्रित छ। त्यसअघि सरकारले उत्तरका नाका खुलाउन खासै चासो दिएको थिएन। डिभिजन सडक कार्यालयले भदौ १५ बाट आफ्नै स्रोत, साधन र उपकरण भरमा नाका खुलाउन थाले पनि त्यसले गति लिन सकेको थिएन।
दक्षिणी नाकामा जारी तनाबले आपूर्ति असहज बनिरहँदा चीन दसैंअघि नै तातोपानी र रसुवागढी नाका खुलाउन सकारात्मक देखिएपछि सडक अवरोध हटाउने कामलाई तीव्रता दिइएको हो।
चीनले सडक अवरोध हटाए नाका खुलाउन सकारात्मक रहेको जनाउ सरकारलाई दिइसकेको छ। एक्सकाभेटर, डोजर, लोडर, ड्रिलसहितका आठ उपकरण चट्टान पन्छाउन चलाइएका छन्। ‘सडकले थप शक्तिशाली उपकरण बिहीबार नाकामा उतार्दैछ।त्यसले नसके अर्को झिकाउँछौं,’ प्रजिअ गिरीले भने।
0 comments:
Post a Comment